महोत्तरी। महोत्तरीको भंगहादेखि जयनगरसम्म रेल सेवा शुरू भएको छ। नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो।
भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ।
यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको हो ।
ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो । शुरुमा दुईपटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउने जाने गरी चारपटक सञ्चालनमा थियो । भंगहा स्टेशनबाट मात्र दिनको दुईपटक साँझ र बिहान सेवा दिने छ ।