काठमाडौं। विराटनगर-मोरङको कटहरी–बथनाहा रेलमार्ग निर्माण गर्न बाँकी रहेको खण्डमा एक महिनाभित्र साइट उपलब्ध नगराए भारतले काम नगर्ने चेतावनी दिएको छ । पटक–पटक ताकेता गर्दा पनि नेपाल सरकारले निर्माणमा आवश्यक जग्गा उपलब्ध नगराएपछि भारतको सरकारी कम्पनी इरकनले चिठी नै लेखेर यस्तो चेतावनी दिएको हो ।
उक्त खण्डमा भारत सरकारको सहयोगमा भौतिक संरचना निर्माण भइरहेको छ । नेपाल सरकारले साइट उपलब्ध गराएपछि भौतिक संरचना निर्माणको काम भारतले गर्नेछ ।
रेलमार्ग निर्माण थालेको १२ वर्ष भइसकेको छ । अहिलेसम्म स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेको छैन । कुल दूरी १८.६ किलोमिटर हो, जसमध्ये साढे ७ किमि मात्र पूरा भएको छ । अन्य केही खण्डमा भौतिक संरचना निर्माण गरिएको र १२ सय मिटर दूरीमा स्थानीयले मुआब्जा कम भएको भन्दै काम गर्न दिएका छैनन् ।
पाँच सीमा नाकामध्ये भारतले सबैभन्दा पहिला निर्माणको काम यहाँ सुरु गरेको थियो । सँगै निर्माण थालेको जयनगर–जनकपुर–विजलपुरा खण्ड पूरा भएर रेल सञ्चालनमा आइसकेको छ।
कान्तिपुरबाट