काठमाडौं । पूर्वपश्चिम रेलमार्गको बर्दिबासदेखि निजगढसम्म रेल्वे लिक बिछ्याउन रेल्वे विभागले प्रस्ताव गरेको छ ।
विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ‘ट्र्याकबेड’को काम सकिन लागेकाले अब रेल सञ्चालन गर्न योग्य हुने गरी रेलमार्ग तयार गर्न प्रस्ताव गरेको हो ।
बर्दिबासबाट ३५ किलोमिटर (लालबन्दी)सम्म पहिलो चरणमा काम अघि बढाउन आर्थिक स्रोत जुटाउन पहल भइरहेको विभागका महानिर्देशक दीपक भट्टराईले बताए । करिब २४ अर्बको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाउन लागिएको उनले जानकारी दिए ।
महानिर्देशक भट्टराईले निर्माणाधीन खण्डलाई रेल चल्न योग्य तयार गरेमा जयनगरबाट जनकपुर हुँदै यात्रुहरु निजगढसम्म रेलमै आउने अवस्था बन्ने बताए । यसले द्रुतमार्गको उपादेयता र महत्व थप बढ्ने उनको भनाइ छ ।