काठमाडौं। वर्खामा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोको कारण सबै खानेपानीको मुहान बगाएपछि हाल बाजुराको अधिकांश गाउँमा खानेपानीको समस्या भएको छ। गत वर्खामा खानेपानीको मुहानमा नै पहिरो गएर इन्टेक पाइप लगाएतका संरचनाहरु पुरिदिएपछि बूढीगंगा गाउँपालिका–१ ब्रह्मतोलामा रहेका ८६ घरपरिवारले हिउँद वर्खानै खानेपानीको समस्या झेल्दै आएका छन्।
उक्त योजनाबाट ब्रह्मतोलाका धानमुहाँ, खर्सेखेत, जमालबाडालगाएतका झण्डै ८६ परिवारले सुविधा लिदैँ आएको बूढीगंगा गाउँपालिका ब्रह्मतोलाका शिक्षक बहाद्र थापाले जानकारी दिएका छन्। पहिरोले मुहान अवरुद्ध भएपछि धारामा पानि आउन बन्द भएको कारण त्यहाँका स्थानीयहरु घण्टौंको बाटो हिँडेर पानी ल्याई आफ्नो जिविकोपार्जन गर्दै आएका छन्। पानीको अभावमा गाउँमा रहेको शौचालय पुरै दुर्गन्धित बनेको छ।
२०५७ सालमा ठाडाखोला खानेपानी कार्यलयले ७ लाख बजेट विनियोजन गरेको थियो भने २०६७ मा सोही योजनालाई थप १५ लाख बजेट विनियोजन गरेपछि १४ वटा पानीको धारा निर्माण गरिएको थियो। हाल कतैबाट पनि योजना नआएको कारणले गर्दा समस्या आएको शिक्षक थापाले जानकारी दिएका छन्। वर्खाको समयमा गाउँमा रहेका साना पानीका मुहानबाट पानी खाएको भएपनि हिउँद लागेपछि मुहान सुकेको कारण खोलाको पानी खान बाध्य भएको स्थानीयले बताएका छन्। उनिहरु खोलाको पानी खादा बालबालिका तथा वयोवृद्धलाई रुघाखोकी, झाडापखाला जस्ता रोग लाग्ने चिन्तामा रहेका छन्।
पहिरोले सबै वडाको खानेपानी क्षतविक्षत बनाएको कारणले गर्दा वडा र नगरपालिकाले मात्रै पुननिर्माण गर्न संभव नभएकाले विभिन्न निकायमा पुननिर्माण गरिदिन अनुरोध गरेको बूढीगंगा नगरपालिका–१ का अध्यक्ष हिरा थापाले जानकारी दिएका छन्।