काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र रसियन राजदुत नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ। नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग सोमवार मन्त्री ज्वालाले भेट गरेका हुन्।
भेटमा मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका विषयमा छलफल भएको छ। केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमणअघि मेट्रो, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको हो ।
छलफलमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेल निर्माणको प्रस्ताव गरे । मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भएको मन्त्रालय सचिवालयले जनाएको छ। जवाफमा रसियन पक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको बताएका छन्। त्यसका लागि ठोस प्रस्ताव समेत उनीहरुले मागेका छन् ।
रसियन पक्षले पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएका छन् । उनीहरुको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइएको छ ।