धनगढी। कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको सडक अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार ट्रकको ठक्करबाट मृत्यु भएकी टिकापुर नगरपालिका–२ की ४० वर्षीया महिलाको शव टिकापुर अस्पतालमा राखिएको छ।
‘पाँच घण्टासम्म सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दै बलपूर्वक सडक सुचारु गराइएको छ। बिहीबार दिउँसो १२ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की सडक खण्डमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै आक्रोशित स्थानीयले १२ बजे देखि नै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए। आन्दोलित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनीसमेत गरेका छन्।