एजेन्सी। भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी अघि बढेको छ। मुलुकको पूर्वोत्तर क्षेत्रमा कनेक्टिभिटी सुदृढ गर्नका लागि भारत सरकारले अघि सारेको परियोजनाअनुसार अन्तरदेशीय रेलमार्गको तयारी गरिएको हो ।
यसका लागि भारत सरकारले १२ अर्ब भारु लगानी गरेको छ । अन्तरदेशीय रेलमार्गले भुटानको सार्पाङमा रहेको गेलेफु र भारतको आसाम राज्यमा रहेको कोक्राझारलाई जोड्ने छ ।
५७.५ किलोमिटर लम्बाईको रेलमार्गको निर्माण सन् २०२६ सम्म सम्पन्न भइसक्ने अपेक्षा गरिएको छ । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे भुटान सरकारसँग थप छलफल भइरहेको जानकारी दिएका थिए ।
यस रेलमार्गको निर्माण भएको खण्डमा भुटानको पर्यटन र वाणिज्य क्षेत्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।