काठमाडौं। कैलाली र कञ्चनपुरका स्थानीय तहमा निर्माणाधीन आधुनिक सहरी सडकको निर्माणले गति लिन सकेको छैन। स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो।
२ जिल्लामा योजना कार्यान्वयनको एक वर्षको अवधिमा लगभग २४ प्रतिशत मात्रै भौतिक प्रगति भएको संघीय आयोजना कार्यान्वयन इकाइ कैलालीले जानकारी दिएको छ। २४ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असारमा ती योजनाको सम्झौता गरिएको थियो। काम सुरु भएका ती योजनाको भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशत मात्रै रहेको जनाइएको छ। त्यसैगरी कैलालीका दुई र कञ्चनपुरका दुई स्थानीय तहमा ११ अर्ब रुपैयाँ बजेटमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको छ।
सो आयोजनाका अनुसार धनगढी उपमहानगरमा पहिलो चरणमा निर्माण गर्न थालिएको सडकको भौतिक प्रगति २० र वित्तीय प्रगति १७, गोदावरी नगरपालिकामा भौतिक प्रगति १८ र वित्तीय प्रगति १५, शुक्लाफाँटा नगरपालिकामा भौतिक प्रगति ३४ र वित्तीय प्रगति ३० तथा भीमदत्त नगरपालिकामा भौतिक प्रगति २१ र वित्तीय प्रगति १० प्रतिशत भएको छ।
धनगढी उपमहानगरमा कालिका कन्ट्रक्सनले ७ वटा सडकको जम्मा १०.२४ किलोमिटर खण्ड ७६ करोड ६ लाख रुपैयाँमा काम गरिरहेको छ। हाल ७ सडकमध्ये ४ सडकमा मात्रै काम सुरु भएको आयोजनाले जानकारी दिएको छ। ३.६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ०.७ किलोमिटरको क्याम्पस रोड–जाखोरताल, ०.८७ किलोमिटरको डिभोटी–पिपलचौतारा १.१५ किलोमिटरको हसनपुर रोड बनिरहेको छ भने २.७ किलोमिटरको गुल्म–चर्च रोड, १.३८ किलोमिटरको चौराहा–कैलालीनाला (चार लेन) ०.४३ किलोमिटरको मालपोत रोडमा हासम्म पनि काम सुरु भएकै छैन।
कैलालीको गोदावरी नगरपालिकामा पनि कालिका कन्ट्रक्सनले ६ वटा सडकको १६ किलोमिटर खण्ड ४८ करोड १७ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेको छ। गेटा आँखा अस्पतालबाट जोनापुर, जोनापुरबाट कत्था उद्योग, गेटा आँखा अस्पतालबाट लालपुर, लालपुरबाट गौरी, सिर्जनानगरबाट चौकीडाँडा र चौकीडाँडाबाट चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको संघीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख प्रवीन शाहले बताएका छन्।
त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाख रुपैयाँमा ४.७७ किलोमिटरका तीन सडक निर्माण गरिरहेको छ। झलारीबाट फुलेली, शुक्लाफाँटा नगरपालिका र पिपलाडीसम्मका तीन वटै सडकमा निर्माणको काम भइरहेको छ। भीमदत्त नगरपालिकामा जेडआइइसी लामा कन्ट्रक्सनले ८७ करोड रुपैयाँमा १४ किलोमिटरका १९ सडक निर्माण गरिरहेको छ। तीमध्ये दुई सडक मदनचोक–दशरथ चोक र ट्राफिक चोक–बिपी चोक सडक चार लेनको बन्ने आयोजना प्रमुख शाहको भनाइ रहेको छ।
कोरोना महामारी र अन्य कारणले निर्माण कम्पनीले समयमा काम गर्न नपाएकाले समयमा निर्माणले गति लिन नसकेको उनले बताएका छन्। आयोजनाअन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको छ। पहिलो चरणको निर्माण सम्पन्न गरिसकेपछि दोस्रो चरणको निर्माण सुरु गरिने इकाइका इञ्जिनियर पुजन न्यौपानेले जानकारी दिएका छन्। सन् २०१५ मा ११ अर्ब रुपैयाँको लागतमा आधुनिक सडक र प्रत्येक स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने गरी एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा आयोजना लागू भएको थियो।