काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरत् सिंह भण्डारीले नागरिकलाई खानेपानी र सरसफाइ प्रदान गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताए।
काठमाडौँमा आयोजित खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा मन्त्री भण्डारीले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याएका हुन्।
संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको समेत उनले बताए।
सरकार, निजी क्षेत्र र दातृ निकाय तथा सङ्घसंस्थाको सहकार्यमा मात्रै सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भएकाले सामूहिक प्रयास महत्वपूर्ण हुने उनको भनाइ छ।
सबै नागरिकलाई खानेपानी र सरसफाइको पहुँचमा पुर्याउन बहुआयामिक विषय जोडिने भएकाले ती क्षेत्रको पनि सुधार गर्नुपर्नेमा उनले जोड दिए । सम्मेलनले एउटा दिशानिर्देश गर्ने उनको धारणा थियो । दिगो विकास लक्ष्यसँग जोडिएको यो विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा महत्वपूर्ण फड्को मार्ने पनि उनले उल्लेख गरे ।