पोखरा। पोखराको विन्ध्यवासिनी मन्दिरमा नेपालीको महान चाड बडादसैँको अवसर पारेर नवदुर्गा महोत्सव सुरु भएको छ।
विभिन्न जातिका वेशभूषा र सांस्कृतिक झाँकीसहित पोखरामा शोभायात्रा निकालेर घटस्थापनाको दिनदेखि कात्तिक ६ गतेसम्म नवदुर्गा महोत्सव
जारी रहने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ। समितिका अनुसार यही असोज २८ देखि कात्तिक ६ गतेसम्म नवरात्रि विशेष कार्यक्रम हुनेछ ।
विन्ध्यवासिनीदेखि सुरु भएको शोभायात्रा मोहरीयाटोल, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुङ्गा, बगालेटोल मोहरीयाटोल हुँदै पुनः विन्दावासिनी मन्दिर परिसरमै पुगेर टुङ्गिएको थियो । शोभायात्रामा देवी दुर्गाका विभिन्न नौ अवतार तथा अन्य देवी देवताको झाँकी निकालिएको थियो ।
घटस्थापनाको दिन देखि मन्दिरमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ गरिएको छ । महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरिशरण पौडेलबाट सङ्गीतमय झाँकीसहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत हुने छ । श्रीमद्देवी भागवतको कथा पूर्वाह्न ९ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म प्रवचन हुने छ । मन्दिरमा विजया दशमीको नित्य पूजाआजा बिहान ४ बजेदेखि गर्ने व्यवस्था मिलाइएको छ ।विन्ध्यवासिनी मन्दिरमा २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आइएको छ ।