काठमाडौं। पेट्रोलियम पदार्थ, हाइड्रोपावर र अटोमोबाइलमा लगानी गरिरहेको एसजी समूहले अमलेखगंजमा वाटरपार्क निर्माण गर्ने भएको छ। पार्क बाहिर रेष्टुरेन्ट पनि निर्माण हुने भएको छ। ४० करोड लगानीमा निर्माण हुने उक्त वाटरपार्कको वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अगाडि बढिसकेको छ।
दुई महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकन र नगरपालिकाबाट अनुमति लिएर निर्माणको काम सुरु हुने एसजी समूहका निर्देशक सुगम घिमिरेले बताए।
हामीले अब आउने गर्मीमा वाटरपार्क निर्माण सक्ने लक्ष्यसहित काम अगाडि बढाएका छौं, यो प्रदेश नम्बर २ को पहिलो वाटर पार्क हुनेउनले जानकारी दिए। उनका अनुसार पार्कमा वाटर स्लाइड, वेभ पुल लगायत पानीसँग सम्बन्धित खेलहरु राखिनेछ। घिमिरेले स्वदेशी र भारतीय पर्यटकलाई लक्षित गर्दै वाटरपार्क निर्माण गरेको समेत बताए।
यस स्थानबाट नजिकै रक्सौल र बिहार रहेकाले भारतीयहरुका लागि लक्षित गरेर यो पार्क निर्माण गरेका हौं। धेरै भारतीय गर्मी छल्न नेपाल आउने गर्छन्। ती मध्ये केही मात्रै यो पार्कमा आउँदा पनि व्यवसायिक रुपमा अगाडि बढाउन सजिलो हुने उनले बताए।
उनका अनुसार वाटरपार्क राजमार्गसँगै जोडिएकाले बाहिर विभिन्न रेष्टुरेन्टका आउटलेट हुन्छ। राजमार्गमा ओहरदोहर गर्नेले राम्रो खानेकुरा समेत पाउने व्यवस्था हुनेछ। कोही त्यही बेलामा वाटरपार्कमा गएर मनोरञ्जन समेत लिन सकिने पनि जानकारी दिए।