काठमाडौं। काठमाडौं महानगरपालिकामा बालबालिकाका लागि धमाधम पार्क निर्माण कार्य भइरहेको छ। महानगरपालिकाले ‘एक वडा एक पार्क’ कार्यक्रम अन्तर्गत बालमैत्री पार्क निर्माण गरिरहेको हो।
सार्वजनिक जग्गा संरक्षण गरी पार्कको रुपमा विकास गर्ने कार्यक्रम महानगरले अघि सारेको छ । महानगरले निर्माण गरिरहेका पार्कहरु बालमैत्री भएको सार्वजनिक निर्माण विभाग प्रमुख राम थापा बताउँछन् । उनी भन्छन्, ‘शहरीकरणले घरैघर मात्रै हुन थाल्यो । कतै घुम्न अथवा केही छिन बसेर गफ गर्ने सफा र खुला स्थानको अभाव परिपूर्ति गर्न महानगरले काम गरिरहेको छ । जहाँ सबै उमेर समूहकालाई सहज हुनेछ ।’
उनका अनुसार महानगरपालिकाले बालबालिकाको लागि ३१ नम्बर वडाको शान्तिनगरमा, ६ नम्बर वडामा शान्ति नमुना पार्क, हाँडी गाउँमा बालमैत्री पार्क, शंखपार्कको एउटा स्थान बालबालिकाको लागि खेलकुद सामग्री सहित छुट्याएको छ । त्यसका साथै महानगरको पाइपलाइनमा धारापाटी पार्कलाई पनि बालमैत्री पार्कको रुपमा विकास गरिरहेको र यो निर्माणको क्रममा रहेको बताए । १० नम्बर वडामा सानो गौचरणमा बालमैत्री पार्क बनाउने तयारीमा रहेको थापाले बताए ।
हालसम्म योजना अनुरुप २३ वटा पार्क निर्माण गरिसकेको र केही निर्माणकै क्रममा रहेको महानगरपालिकाले जनाएको छ । पार्क निर्माण गर्ने क्रममा बालबालिका र ज्येष्ठ नागरिकलाई ध्यानमा राखेर काम भइरहेको महानगरले जनाएको छ।
यो आर्थिक वर्षभित्र ५० भन्दा बढी पार्क सम्पन्न गर्ने र त्यसको लागि ३० करोड रुपैयाँ हाराहारीमा बजेट खर्च हुने अनुमान गरिएको छ ।