काठमाडौं। भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवाको समय तालिका फेरिने भएको छ। आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको हो।
मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको बताइएको छ। दैनिक आउजाउ गरी छपटक सञ्चालन भइरहेको रेल भङ्गाहा बिजलपुरा–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ।
जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ। चिसो मौसमका कारण यात्रुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समय मात्र परिवर्तन गरिएको हो।
परिवर्तन गरिएको नयाँ तालिकाअनुसार रेल सेवाको पहिलो ट्रिप रेल भङ्गहाबाट (बिजलपुरा) बिहान ७ः३० प्रस्थान र जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भङ्गहा आइपुगेर रात्रि विश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।
त्यस्तै जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने जनाएको छ। यसैगरी फेरि जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भई दिउँसो ४ः४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।
दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुने छ। यो रेल साँझ ७ः१५ बजे भङ्गहा ९विजपुरा० पुगेर रात्रि विश्राम बस्ने छ। यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थाबाट महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७ दशमलव पाँच किलोमिटर रेलको लिक तयार भएको छ। तेस्रो चरणमा विजलपुरा भङ्गाहाबाट बर्दिबाससम्म १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनका लागि लिक निर्माण भइरहेको छ।