ललितपुर। बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरमा पूनःनिर्माणमा प्रयोग गरिने १६ इँटाको झ्याल निर्माणको क्रममा रहेको छ। सो मन्दिरको पुनःनिर्माणको काम ५ महिनाअघिदेखि अघि बढेको छैन।
मन्दिर निर्माणमा आवश्यक कच्चापदार्थ जोहो गर्दागर्दै गत साउनदेखि हालसम्म एक वटा इँटा थप्ने काम पनि भएको छैन। मच्छिन्द्रनाथ पुनःनिर्माणमा लाग्ने करिब १४ हजार डाँछी इँटा बनाउन दिएकाले पुसको पहिलो हप्ताबाट मन्दिरको काम थालिने मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले जानकारी दिएका छन्। मन्दिरका लागि चाहिने झ्याल, तोरण तथा काठ र बुट्टाहालेका इँटा आदि विभिन्न सामग्री व्यवस्थापनमा समय खर्च भइरहेको कारणले गर्दा मन्दिर निर्माणको कार्य अघि बढ्न नसकेको उनले जनाएका छन्। सो मन्दिरमा प्रयोग गरिने एक प्रकारको १७६ इँटा तयार भइरहेको उनको भनाइ छ। मच्छिन्द्रनाथको मन्दिर वरिपरि रहेका अन्य ८ मन्दिर पनि निर्माण गर्नुपर्ने भएकाले यसका लागि सामग्री तयार गरिसकेको र मन्दिरमा प्रयोग गरिने इँटामा लेउ नलागोस भनेर रसायन आदि हालेर निर्माण गराइरहेका कुरा उनले जानकारी दिएका छन्।
बुङ्मति क्षेत्रमा तीन नाम चलेका धरोहर मच्छिन्द्रनाथका साथै मनकामनामाई र ह्यङ्ग्री वभैरवमार दुई निर्माण सम्पन्न भइसक्दा मच्छिन्द्रनाथको काम अझै अलपत्र रहँदा अन्तरराष्ट्रियस्तरमा लाजमर्दो विषय बनेको छ। वि.सं २०७२ सालको भूकम्पमा सो मन्दिर जीर्ण भएको थियो। मन्दिर पूरै पुनःनिर्माण सम्पन्न गर्न ६४ फिट ४ इन्चको गारो लगाउनुपर्ने छ तर हाल २० फिट मात्र गारो लगाउने काम भएको समितिले जानकारी दिएको छ। ६ वर्षअघिको भूकम्पले जीर्ण बनाएको सो मन्दिर श्रीलङ्का सरकारको रु ५ करोड आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गर्ने भनिएको थियो। तर मन्दिर पुनःनिर्माणमा कसैबाट चासो नदिइएपछि गत वर्ष असार २० गते क्षमापूजा गरी २२ गतेबाट समिति र पुरातत्व विभागबीच रु ३ करोड ८ लाखमा सम्झौता भई निर्माणको काम अघि बढाइएको थियो।
लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको सो मन्दिर यहीवर्ष २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएकोमा अझै कति समय लाग्ने हो भन्ने टुङ्गो लाग्न सकेको छैन। यसैगरी मुलुकमा मच्छिन्द्रनाथले सबैै जगतको लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष कृष्ण प्रतिपदादेखि रथजात्रा गर्ने परम्परा रहि आएको छ। हालमन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मतिको एक पाटीमा राखिएर नित्य पूजाआजा अनि रेखदेख गरिरहेको जनाइएको छ।
मन्दिर निर्माणको लागि तयार पारिएको इँटा फुट्ने र पुनःनिर्माण समेत गरिरहनु पर्दा सुकाउन र जोहो गर्नै समय लागिरहेकाले मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै डेढदेखि दुई वर्ष लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष निकराज शाक्यले जानकारी दिएका छन्। साथै सो मन्दिर पुनःनिर्माणमा १३ देखि एक हजार ४०० वर्ष पुराना मेथ अनिकार्नेशलगायतका बस्तु पनि प्रयोग गरिरहेको उनले जानकारी दिएका छन्।