काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सडक डिभिजन जुम्लाको सिफारिसका आधारमा कार्यालयले ती कम्पनीलाई २ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।
कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कारबाही प्रक्रिया अघि बढाउँदै कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो। निर्णयसँगै तोकिएको अवधिभर उनीहरूले कुनै पनि सरकारी तथा सार्वजनिक निकायको खरिद, बोलपत्र तथा ठेक्कापट्टा प्रक्रियामा भाग लिन पाउने छैनन्।
कार्यालयको सूचनाअनुसार काठमाडौँ कोटेश्वरस्थित दानबहादुर कार्की मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवा प्रालि र कालिकोट खाडाचक्र–१ स्थित सूर्यबहादुर शाही मुख्य व्यक्ति रहेको मान शाही निर्माण सेवालाई ३/३ वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै, काठमाडौँ कलंकीस्थित माधव घिमिरे र हरिप्रसाद घिमिरे सञ्चालक रहेको कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालिलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ। निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको कार्यालयले जनाएको छ।