काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले पूर्वाधार निर्माणका काम छिटो, छरितो र गुणस्तरीय बनाउन वन ऐनसहित विभिन्न कानुनमा सुधार आवश्यक रहेको बताएका छन्।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशालामा बोल्दै उनले पूर्वाधारसम्बन्धी ऐनसँगै वन तथा स्थानीय ऐनमा समेत सुधार गर्नुपर्ने बताए।
उनले कार्यशालालाई पूर्वाधार विकाससम्बन्धी कानुनी सुधारको प्रस्थानबिन्दु बनाउनुपर्नेमा जोड दिए। होर्मुज क्षेत्रमा देखिएको अवरोधका कारण निर्माण सामग्रीको मूल्य बढ्नुका साथै आयातमा समस्या देखिएको उनले बताए।
सार्वजनिक खरिदको दोस्रो संशोधनबाट कार्यविधि बनाएर समस्या समाधान गर्ने भनिएकाले निर्माण सामग्री आयात सहज बनाउन सरकारले छिट्टै कार्यविधि ल्याउने अपेक्षा उनले व्यक्त गरे। नेपालमा पाँच वर्षभित्र समृद्धि हासिल गर्न सबै पक्षबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो।