काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनकपुर–जयनगर रेल यसै वर्ष सञ्चालनमा ल्याउने बताएकी छन्।
मंगलबार जनकपुरधाममा रेल्वे लाइनको निरीक्षण गर्दै मन्त्री यादवले अध्यादेश मार्फत् कानुन ल्याएर चाँडै रेल सेवा सञ्चालन गर्ने बताएकी हुन्।
उनले अध्यादेश ल्याउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको जानकारी दिँदै अध्यादेश ल्याउने सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक भएको बताइन्।
मन्त्री यादवले एक साताभित्र कानुन निर्माण भइसक्ने र काठमाडौं जानेवित्तिकै कागजहरु तयार पारी हस्ताक्षर गरेर प्रक्रिया अघि बढाउने बताइन्।
उनले यो वर्षभित्रै जनकपुर–जयनगर रेल सञ्चालन गराउने त्यसपछि बर्दिबास, निजगढतिरको रेलमा ध्यान दिने समेत प्रतिबद्धता व्यक्त गरेकी छन्।
भारत सरकार पनि नेपालमा चाँडै रेल सञ्चालन होस् भन्ने चाहेको भन्दै उनले रेल सञ्चालन भएपछि दुबै देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउने जानकारी समेत दिइन्।