काठमाडौं। बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको बारेमा चीन र नेपालबीच छलफल सुरु भएको छ । रेल परियोजनाबारे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितको टोली चीनमा छ ।
चीनले विस्तृत सम्भाव्यता अध्ययनको काम गरिरहको बेला परियोजनाको अध्ययनमा भएको प्रगति तथा परियोजनाबारे समीक्षा गर्न चीन–नेपालको सचिवस्तरीय रेल्वे संयन्त्रको बैठक बसेको हो ।
चीनबाट १२ पुस २०७९मा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको थियो । त्यसपछि चीनबाट प्राविधिक टोली नेपाल आएर अध्ययनको काम गरिरहेका छन् । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु रसुवा, नुवाकोट, काठमाडौं लगायतका क्षेत्रमा अध्ययनमा गरिरहेका छन् ।
तर, अहिलेसम्म परियोजनामा कस्तो प्रगति भयो भन्ने जानकारी चिनियाँ पक्षले दिएको छैन । भौतिक पूर्वाधार मन्त्रालय स्रोतका अनुसार सचिवस्तरीय बैठकमा चीनले यसबारे नेपाललाई जानकारी गराउने अपेक्षा छ ।
बैठकमा चिनियाँ पक्षले नेपाल सरकारसँग जमिन, वन तथा अन्य विभिन्न तथ्य तथ्यांकसहित अपेक्षा गरेको विभिन्न सहयोगहरुबारे पनि छलफल हुने अधिकारीहरु बताउँछन् । अनलाइनखबरबाट