काठमाडौं। रेल सेवा सञ्चालनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार लोसपा नेपालले जनकपुरधाम–जयनगर रेल्वे सेवा तत्काल सञ्चालन गर्नुपर्ने मागसहित प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको हो।
जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तीर्थालुहरुको यात्रामा अहम् भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ। सबै कुरो तयारी अवस्थामा रहे पनि राज्यको बक्रदृष्टिका कारण सञ्चालन भइरहेको छैन, जसले गर्दा जनकपुर क्षेत्रको समग्र विकाससमेत प्रभावित भइरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
लोसपाका अनुसार जनकपुरधाम रेल्वे सञ्चालन भएमा उक्त क्षेत्र व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरू खुल्ने, पर्यटकको विकास हुने, उद्योगधन्दा खुल्न थाल्ने, जनकपुरधाम यातायातको केन्द्र बन्नेजस्ता कुराहरु निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर भइरहेको छ।
संघीय सरकारले षडयन्त्रपूर्वक रेल सञ्चालन गर्न नचाहेको भन्दै लोसपा नेपालले विवाह पञ्चमी अघि रेल सञ्चालन नभए सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएको छ। लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले जनकपुरको समग्र विकासलाई प्रभावित पार्ने उद्देश्यले रेल सञ्चालन गर्न सरकारले नै नचाहेको आरोप लगाए। पार्टी विभाजन गर्नका लागि अध्यादेश ल्याउन मिल्ने तर रेल सञ्चालनका लागि अध्यादेश ल्याउन किन नमिल्ने भन्ने उनको प्रश्न छ।