काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिएकी छिन्। राष्ट्रपति भण्डारीले बिहिबार कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिएकी हुन्।
साथै यस्ता खालका धार्मिक संस्था र धार्मिक कार्यक्रमले नेपालको प्रकृति, संस्कृति र सभ्यताको प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताएकी छिन्। यसैगरी नेपालमा पनि कोरोना भाइरसले जनस्वास्थ्यमा पारेको प्रभावको प्रसङ्ग स्मरण गर्दै राज्यको पहिलो धर्म जनताको स्वास्थ्यको संरक्षण भएकाले कोरोना भाइरसबाट नेपाली नागरिकलाई बचाउन विशेष पहल गर्नुपर्नेमा जोड दिएकी छिन्।
चुरे क्षेत्र नेपालको विकासको लागि महत्त्वपुर्ण स्थान भएको कारणले गर्दा चुरेको संरक्षणमा त्यहाँ नजिकैका बासिन्दालाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्न राष्ट्रपति भण्डारीले आह्वान पनि गरेकी छिन्। यसैगरी उनले विकासको गतिलाई अवरुद्ध हुन नदिन तथा प्रकृतिलाई बिगारेर होइन, प्रकृतिलाई सिँगारेर विकास गर्न आग्रह गरेकी हुन। उक्त क्षेत्र पर्यटकीय क्षेत्र भएका कारणले गर्दा त्यहाँको संरक्षण र विकास गर्न सकेमा पर्यटकलाई अझ बढी आकर्षित गर्न सकिने जनाइएको छ। यसबाट देशको आर्थिक विकासमा पनि टेवा पुग्नेछ। यो भन्दा अगाडी राष्ट्रपति भण्डारीले कैलाश आश्रम धाममा निर्माण गरिएका दुई वटा प्रवेशद्वार र अष्टचिरञ्जीबी महाकुण्डको अनावरण गरकी थिइन्।
सोही कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कैलाश आश्रम धामको विकासमा आफूले सक्दो पहल गर्ने बताएका छन्। त्यसैगरी सो आश्रमका प्रमुख संरक्षक लोकानन्द स्वामीले यस क्षेत्रको विकास गर्न र धार्मिक पर्यटनको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।