काठमाडौं। जुम्लाको पातारासी गाउँपालिका ७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन्। गैरसरकारी संस्था हातेमालो नेपाल जुम्ला ले नमुनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको हो।
विस्तारै अन्य घरहरुमापनि होमस्टे सञ्चालन गरिने हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतले जानकारी दिए। अहिले रेडपाण्डा संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ। उनका अनुसार मुगुको रारा जाने पर्यटकलाई मध्यनजर गरी होमस्टे सञ्चालनमा ल्याइएको हो।
गतवर्षको चैतदेखि सुरु भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण प्रसस्त मात्रामा पाहुना आएका छैनन्। कोरोनाको संकट कम हुदै जादा पर्यटकको संख्या बढ्ने आशा गरिएको छ। पाहुनाको पर्खाइमा आतुर भएको होमस्टे सञ्चालीका राज्यलक्षी रावतले बताइन्। पाहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन आफु आतुर भएको उनले जानकारी दिइन्।