काठमाडौं। दक्षिण–पूर्वी एसियाको भुपरिवेष्ठित मुलुक लाओस चीनसँग जोड्ने रेलमार्ग सञ्चालनमा ल्याइएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका लाओसका समकक्षी थोङलोउन सिसोलिथले शुक्रबार भर्चुअल माध्यमबाट रेलमार्ग सञ्चालनको उद्घाटन गरेका हुन्।
अन्तराष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार शुक्रबार दिउँसो चिनियाँ प्रान्त युनानको राजधानी कुनमिङबाट एउटा रेल लाओसको राजधानीका लागि छुटेको छ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्ग बनेको उक्त रेलमार्ग १०२४ किलोमिटर लामो छ।उक्त रेलमार्गका लागि ५.९ अर्ब अमेरिकी डलर खर्च भएको बताइएको छ।
सन् २०१६ मा निर्माण थालिएको उक्त रेलमार्गले चिनियाँ प्रान्त युनान राजधानी कुनमिङ सहर र लाओसको राजधानी भेन्टियानलाई जोड्ने छ।
उक्त रेलमार्गमा १६७ वटा सुरूङ बनाइएको छ। चीन र लाओसको सीमा क्षेत्रमा पनि सुरूङ बनाइएको छ। सुरूङभित्र दुई देशको सीमा छुट्याउन भित्तामा उनीहरूको झन्डा राखिएको छ।