काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चौथो पटक मेलम्चीको पानी वितरणको उदघाटन गर्ने भएका छन्। मेलम्चीको पानी पुनर्वितरणको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे सिंहदरबार भित्रबाट गर्ने भएका हुन्।
प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर मेलम्चीको पानी पुनर्वितरणको उदघाटन गर्नेछन्।
तर मेलम्चीको पानी उपभोक्ताको घरमा भने आज बिहान आठ बजेदेखि नै आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो ।
बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो ।
पुस ३ मा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले पानी पथान्तरणको काम २८ दिनभित्र सम्पन्न गरी उपत्यकाका घर–घरमा पानी पुर्याउने निर्णय गरेको थियो । त्यसका लागि ४ पुसदेखि दुई सिफ्टमा जनशक्ति परिचालन गरी पथान्तरणको काम सुरु गरिएको थियो ।
पथान्तरणको काम पुस २७ गते नै सकेर सुरुङमा पानी हालिएको थियो । केही दिन पानी बगाएर सुरुङ सफा गरेपछि उपत्यकावासीका धारामा पानी वितरण सुरु गर्न लागिएको हो ।