लमजुङ। पूर्वी लमजुङको दोर्दीमा बेलायतमा रहेका प्रवासीहरूको सहयोगमा गुम्बा निर्माण भएको छ। दोर्दी–२, सल्लाबोटमा करिब १ करोड रुपैयाँ लागतमा गुम्बा निर्माण भएको हो।
जन्मस्थान दोर्दी भई हाल बेलायत बस्दै आएका मबहादुर गुरुङको पहलमा रकम संकलन गरी गुम्बा निर्माण कार्य सुरु भएको हो। निर्माणको अन्तिम चरणमा पुगेको गुम्बाका लागि अहिलेसम्म ७० लाख भन्दा बढी खर्च भइसकेको छ।
गुम्बा निर्माणका लागि प्रवासीको सहयोगसँगै दोर्दी गाउँपालिकाले पनि पाँचलाख रुपैया सहयोग गरेको छ। दोर्दी–२, अर्चलबोटअन्तर्गत सल्लाबोट, पैस्वारा र कोनासाअन्तर्गतका गुरुङ समुदायको पूजाआजाको निम्ति गुम्बा निर्माण भएको हो।
गुम्बासँगै उक्त स्थानमा पर्यटक लक्षित गुरुङ संग्राहलय र भ्युटावर समेत निर्माण गर्ने योजना रहेको छ। गुरुङ सँस्कार सस्कृतिको संरक्षण सँगै आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न संग्रहालय र भ्यु टावर निर्माणको योजना बनाइएको स्थानियले बताए।
तत्कालका लागि गुम्बा निर्माणको काम अन्तिम चरणमा पुगेपनि संग्रहालय र भ्युटावरको निर्माण कार्य सुरु हुन सकेको छैन। आवश्यक बजेट व्यवस्थापनको तयारी भइरहेकाले रकम जुट्नासाथ संरचना निर्माणको काम अघि बढ्ने छ।