काठमाडौं। सरकारले भारतबाट वर्ष दिन अगाडी ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेसँगै रेल चलाउन कानुनी रूपमा बाटो खुला भए पनि सञ्चालनको सुरसारसमेत देखिएको छैन।
नेपाल रेल–वे कम्पनी महाप्रबन्धक निरञ्जन झाले अब बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढाएर रेल सञ्चालन गरिने जानकारी दिएका छन्।। बिनातयारी भारतबाट ल्याइएको रेल वर्ष दिनअघिदेखि जनकपुरमा ल्याएर पालले छोपेर राखिएको छ। लामो समयसम्म सञ्चालन हुन नसक्दा पालसमेत च्यातिएर गएको छ।
भारतबाट गत वर्षको असोजमा जयनगर–कुर्था खण्डमा सञ्चालन गर्न भन्दै दुईवटा रेल सेट खरिद गरिएको थियो। सरकारले रेलमार्ग र ट्रेन सेट तयार भएपछि नेपाल रेलवे कम्पनी स्थापना गरेर जिम्मा दिएको छ।
नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारकै पालामा रेल सञ्चालनको लागि पटक–पटक समय तोकिएको थियो। तयारी नगर्ने तर रेल सञ्चालनको समय मात्र तोकिँदा लामो समयदेखि रेल सञ्चालन हुन नसकेको हो।
निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले १९ जेठ २०७७ मा नै रेल सञ्चालनका लागि सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जनाएको थिए। तर, सरकारी पक्षबाट रेल सञ्चालनका लागि अझै आवश्यक सबै तयारी पूरा नभएको पाइएको छ।