काठमाडौं। बर्दघाट–सुनवल बजारमा फागुनभित्रै कालोपत्रे गरिने भएको छ। सोमबार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधी समेतको बैठकमा बर्दघाट–सुनवलका निर्माण कम्पनीका प्रतिनिधिले फागुनभित्रै कालोपत्रे सकिने बताएका हुन्।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले निर्माण व्यवसायीलाई बर्दघाट–सुनवल बजारमा कहिलेसम्म कालोपत्रे गर्ने हो स्पष्ट रूपमा समयसीमा चाहियो भनेर प्रश्न गरेका थिए । जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधिले फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजारमा कालोपत्रे गरिसक्ने बताए ।
सांसद चौधरीले उक्त प्रतिबद्धता कार्यान्वयन गर्न दुम्किबास–बुटवल सडक खण्डका प्रोजेक्ट हेड शशांक मिश्र लाई निर्देशन दिए । चिनियाँ ठेकेदार र सडक विभागकातर्फबाट खटिएका प्रोजेक्ट हेड दुवै जनाले फागुनभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन् ।
सांसद चौधरीले दुवैतर्फका जिम्मेवार अधिकारीलाई निर्देशन दिँदै भने, ‘फागुन अन्तिममा दुवैजनासँग बर्दघाटमा भेट्नेछु। काम पूरा भएन भने तपाईँहरूमाथि कारवाही गरिनेछ। नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन् । अब पनि ढाँटछल गर्ने काम भयो भने मलाई सैह्य हुनेछैन ।’