बारा। बाराको दुधौरा पुल निर्माण गरेको निर्माण कम्पनीले सम्पन्न भएको कामको भुक्तानीका लागि पहल गरिदिन सरोकारवालासँग आग्रह गरेको छ। महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा सूचना लेखेर नै निर्माण पूरा भएको कामको भुक्तानी दिलाउने काममा पहल गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेको हो ।
सूचनामा लेखिएको छ, ‘यस पुल निर्माण कार्य सम्पन्न भइसकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि यस जेभीले निरन्तर र नियमित निर्माण कार्य गरिहेकाले सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न भुक्तानीको लागि पहल गरिदिनु हुन अनुरोध गर्दछौँ।’
समयमै भुक्तानी नपाएको कारण देखाउदै कम्पनीले हाल निर्माणको काम समेत रोकेको छ । भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने कम्पनीको भनाइ छ । सम्झौताअनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ५६ प्रतिशतमात्रै काम पूरा भएको हो ।
ठेकेदार कम्पनीले गत आर्थिक वर्षसम्म सम्पन्न गरेको ५६ प्रतिशत काममध्ये ५० प्रतिशत कामको अर्थात् करिव ५ करोड भुक्तानी लिइसकेको छ भने बाँकी रकम भुक्तानीका लागि सहयोग गरिदिन निर्माण क्षेत्रमै सार्वजनिक सूचना टाँस गरेको हो ।