काठमाडौं। थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य २५ प्रतिशत पूरा भएको छ। दैनिक तीन सिफ्टमा ५ सय जनशक्तिद्वारा काम भइरहेको सुरुङ निर्माणको काम हालसम्म २५ प्रतिशत पूरा भएको हो।
निर्माणलाई तीव्रता दिन अहिले दैनिक आठ मिटर सुरुङ खन्ने काम भइरहेको निर्माण आयोजनाले जनाएको छ ।
पूर्वतिर (काठमाडौ) बाट र पश्चिमतिर (धादिङ) बाट सुरुङ खन्ने काम निरन्तर रूपमा अगाडि बढिरहेको बताइएको छ। आयोजनाका अनुसार अहिले आयोजनाको भौतिक प्रगति भने ३३ प्रतिशत रहेको छ ।
एक हजार ८८८ मिटर सुरुङ खन्ने काम सकिएको छ भने चालू आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्म सुरुङ पूरा हुने बताइएको छ। गएको पुसदेखि धादिङतर्फबाट सुरुङ खन्ने काम सुरु भएको थियो । त्यसैगरी काठमाडौँतिर ओभर पास निर्माण सम्पन्न गरी बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ भने धादिङतिर अन्डर पास निर्माण पूरा भएको आयोजनाले जनाएको छ।