काठमाडौं। दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा नगरपालिकाकै ठूलो फुर्वालाखाङग गुम्बा निर्माण सुरु भएको छ। विसं २०७२ मा गएको विनासकारी भूकम्पले भत्केको मकैबारीस्थित लामाटोलमा रहेको सयौंवर्ष पुरानो फुर्वालाखाङ गुम्बाको पुनः निर्माण सुरु गरिएको हो।
पर्यटन विकास आयोजना वाग्मती प्रदेश सरकारको रु दुई करोड ६५ लाखको लगानीमा पक्की गुम्बा निर्माण गर्न लागिएको हो।
नगरपालिकाकै सभ्यतासँग जोडिएको फुर्वालाखाङग गुम्बा १८ महिनामा सम्पन्न गरी सक्ने लक्ष्य छ। अठार महिनामा काम सम्पन्न गर्ने गरी तिरुपाते निर्माण कम्पनीले निमाणको जिम्मा पाएकामा १४ महिनाभित्रै निर्माण सम्पन्न गरी हस्ताणरण गरिने कम्पनीका प्रोपाइटर सुदम कार्कीले जानकारी दिए।
नगरपालिकाको समन्वयमा निर्माण गरिन लागेको उक्त भवन ऐतिहासिक सम्पदा रहेको र त्यसको समयमानै पुनःनिर्माण गर्नको लागि प्रत्यक्ष रुपमा निगरानी गरिने नगर प्रमुखले बताए। गुम्बा सयौं वर्ष पहिलेदेखि भए पनि २५ वर्षअघि मात्र दर्ता गरिएको थियो।
पुनःनिर्माण प्राधिकरणका अनुसार भूकम्पले भत्केका गुम्बा पुनःनिर्माण गर्नका लागि दर्ता भएको एक सयवर्ष पूरा भएको हुनुपर्ने भएका कारण निर्माण हुनसकेको थिएन।वौद्ध धर्मलम्वीको आस्थाको प्रतिक गुम्बा निर्माण हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।