काठमाडौँ । बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार बागमती प्रदेशअन्तर्गत खुक–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बीपी राजमार्ग प्रभावित भएको छ। रसुवाका मुख्य राजमार्गहरू पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वालामुखी र शीतलबजार क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशको संखुवासभा मकालु गाउँपालिका–४ स्थित नेताभीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।