काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रको मूल्यमा अनुचित प्रभाव पार्ने गरी मिलेमतो नगर्न सार्वजनिक निकाय तथा बोलपत्रदातालाई निर्देशन दिएको छ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनपछि बोलपत्रको औसत अंकमा अनुचित प्रभाव पार्ने उद्देश्यले लागत अनुमानभन्दा बढी कबोल अंकसहित बोलपत्र पेश भएको जानकारी प्राप्त भएको जनाएको छ।
कार्यालयका अनुसार सार्वजनिक खरिद ऐनको दफा ६२ को उपदफा (२) मा बोलपत्रदाता वा प्रस्तावदाताबीच खरिदको काम बाँडफाँड गर्ने, प्रस्तावको मूल्य कृत्रिम वा अप्रतिस्पर्धी तवरले निर्धारण गर्ने तथा सार्वजनिक निकायलाई खुला र स्वतन्त्र प्रतिस्पर्धाबाट प्राप्त हुने लाभबाट वञ्चित गर्ने उद्देश्यले मिलेमतो गर्न नहुने व्यवस्था छ।
त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको नमुना बोलपत्र कागजातको ‘Instruction to Bidders’ अन्तर्गत ‘Fraud and Corruption’ को उपदफा ३.२ मा समेत बोलपत्रदाताबीच मिलेमतो गरी कृत्रिम वा अप्रतिस्पर्धी मूल्य निर्धारण गर्न नहुने उल्लेख छ।
ऐनको दफा २६ को उपदफा (६) अनुसार बोलपत्रदाताले आपसमा मिलेमतो गरी बोलपत्र दाखिला गरेको प्रमाणित भएमा त्यस्ता बोलपत्र रद्द हुने व्यवस्था रहेको कार्यालयले स्मरण गराएको छ।
कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४४ को खण्ड (ख) को प्रयोजनका लागि खरिदसम्बन्धी प्रतिवेदनमा उल्लिखित विषयअनुसार प्रतिवेदन गर्नसमेत सबै सार्वजनिक निकायलाई निर्देशन दिएको छ।