काठमाडौं । सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनको काम तीव्र बनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ।
उनका अनुसार नुवाकोटमा भदौ २४ गतेदेखि नै सम्पूर्ण क्षेत्रमा बिजुली सञ्चालनमा आएको हो भने धादिङमा त्यसअघि नै विद्युत् सेवा पुनःस्थापित गरिएको थियो। बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवाका करिब ९० प्रतिशत क्षेत्रमा समेत विद्युत् सेवा पुर्याइएको मन्त्रालयले जनाएको छ।
भदौ १० गते आएको बाढीबाट विद्युत् पूर्वाधारमा क्षति पुगेपछि रसुवा, नुवाकोट र धादिङमा भोलिपल्टदेखि नै विद्युत् सेवा पुनः सञ्चालनको काम थालिएको थियो।
उत्तरगया गाउँपालिका–१ तथा गोसाईंकुण्ड गाउँपालिकाका वडा नम्बर १, २ र ३ बाहेक रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सञ्चालन भइसकेको शाक्यले बताए। राष्ट्रिय प्रसारण नपुगेका क्षेत्रमा सौर्य प्रणालीमार्फत विद्युत् सेवा उपलब्ध गराउने काम भइरहेको छ।