हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा लगाइएको एकतर्फी यातायात व्यवस्था हटाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए।
त्रिभुवन राजपथले हेटौंडालाई पालुङ–नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौंडालाई टीकाभैरव–ललितपुर हुँदै काठमाडौं उपत्यकासँग जोड्छ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन गत १६ भदौदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी व्यवस्था गरिएको थियो।
कृष्णभीर खण्डमा यातायात सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाएर शुक्रबारदेखि दुवै राजमार्गमा नियमित दुईतर्फी यातायात सञ्चालन गरिएको सुवेदीले बताए।