पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ पेलेगा डाँडामा लामो समयदेखि निस्किरहेको धुवाँ विषाक्त ग्यास कार्बन मोनोअक्साइड रहेको विज्ञहरूले बताएका छन्। खानी तथा भूगर्भ विभागको टोलीले बुधबार स्थलगत अध्ययन तथा त्यहाँका नमुनाहरूको प्रारम्भिक परीक्षणपछि चट्टानबाट निस्किरहेको धुवाँ कार्बन मोनोअक्साइड रहेको पत्ता लागेको हो।
खानी तथा भूगर्भ विभागका खानी विज्ञ प्रकाश लुइँटेलले धुवाँ निस्किरहेको कार्बनयुक्त चट्टानभित्रको पाइराइट खनिज अक्सिजनसँग मिसिएपछि सल्फर डाइअक्साइड ग्यास निस्किएको र त्यही ग्यास निस्किने बेलामा उत्पन्न भएको तापले कार्बनयुक्त चट्टानलाई बल्न मद्दत गरेको हुनसक्ने बताएका छन् ।
धुवाँ निस्किरहेको ठाउँमा जमिन भासिएको र स्थानीयका अनुसार पहिरो समेत गएको थियो । पहिरो गएपछि चट्टानमा धुवाँ निस्किने र त्यसको तल खोल्सीको पानीसमेत एसिडयुक्त भएर रातो बनेको छ। त्यहाँको धुवाँ मात्र होइन, पानीसमेत मानिस र बस्तुभाउको स्वास्थ्यका लागि घातक हुने विज्ञहरुको भनाइ छ । उनीहरुले धुवाँ नजिक नजान, नसुँघ्न र पानी प्रयोग नगर्न समेत आग्रह गरेका छन् ।