काठमाडौँ। अलपत्र परेको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत्गृह निर्माणका लागि ६ कम्पनीले प्रस्ताव पेस गरेका छन्।
आयोजनाका अनुसार प्रस्ताव पेस गर्नेमा चीनका चार तथा भारत र भियतनामका एक–एक कम्पनी छन्। हाल ती कम्पनीको प्राविधिक मूल्यांकन भइरहेको छ। मूल्यांकन १०–१५ दिनमा सक्ने र त्यसपछि प्राविधिक रूपमा योग्य कम्पनीको आर्थिक प्रस्ताव खोलिने आयोजनाले जनाएको छ।
पटेल–रमण जेभीले सम्झौता अवधिको ६१ प्रतिशत समय बित्दा १० प्रतिशत मात्रै काम गरेपछि गत कात्तिकमा ठेक्का तोडिएको थियो। त्यसपछि आयोजनाले पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो।
करिब ४९ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनाको हालसम्म भौतिक प्रगति ३६।८३ प्रतिशत छ। आयोजनाले १३।३ किलोमिटर सुरुङमार्फत सुनकोसीको पानी मरिण नदीमा खसालेर मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने र ३१।०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।