विराटनगर। भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी)स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरसरकारी समन्वयको काम थालेको छ। मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै बढी समय लाग्ने भएको कारणले निर्माण सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो।
आईसीपीसम्म कार्गो रेल ल्याउने विषयमा भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जानकारी दिएको छ। आईसीपीको रेल स्टेसनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केही प्रक्रियागत पहल सुरु गरिएको हो।नेपाल–भारत रेलवे निर्माण सम्झौतामा बथनाहा–कटहरी १८.६ किलोमिटरको दूरी उल्लेख रहेको छ। भारतीय पक्षले निर्माण सम्पन्न भइसकेको क्षेत्रलाई प्रयोगमा ल्याउन दिएर बाँकी क्षेत्र निर्माण गर्ने सहमति दिए आगामी ९ महिनाभित्रमा आईसीपीसम्म कार्गो रेल ल्याउन सकिने विज्ञले सुझाव दिएका छन्।
कार्गो रेल सञ्चालनका लागि पहिलो चरणमा नेपालले ८७५ मिटर लम्बाइ र ३१ मिटर चौडाइको यार्ड र आईसीपीसम्मको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ। प्रारम्भिक रूपमा यार्ड निर्माणका लागि ६ करोड ८४ लाख रुपियाँ र पहुँच मार्ग निर्माणका लागि ६३ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। यसैगरी दोस्रो चरणमा अधिग्रहण भइसकेको रेलवेको जग्गा र आईसीपीभित्रको खाली क्षेत्रलाई समेटेर ४० मिटर चौडाइको कन्टेनर प्लेटफर्म विकास गर्न प्रस्ताव गरिएको छ। यसका लागि ४२ करोड ८८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। पहिलो र दोस्रो चरणको विस्तारपछि कन्टेनर यार्ड ७१ मिटर चौडाइको हुनेछ ।
कार्गो रेल सञ्चालनका लागि एकीकृत भन्सार जाँचचौकी, रेलवे र भारतीय भन्सारबीच विराटनगर भन्सारले समन्वयको काम गर्ने बताइएको छ। रेल ढुवानीमा विराटनगर भन्सारमार्फत भारत तथा तेस्रो मुलुकमा हुने निकासी र तेस्रो मुलुकबाट पैठारी गर्दा हाल लाग्दै आएको सडक यातायातको खर्चमा ३५ प्रतिशतले कमी आउने भन्सार प्रमुखले जानकारी दिएका छन्। कार्गो रेल सञ्चालनमा आएमा विराटनगर नाकाबाट आयात निर्यात बढ्ने विश्वास रहेको छ।