काठमाडौं। बोधी श्रवण धर्म सङ्घले विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चैत ६ देखि १३ गतेसम्म धार्मिक सम्मेलन गर्ने भएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री मणि लामाले विश्वमा बढ्दै गएको सैन्य तथा आणविक द्वन्द्वले मानवीय अस्तित्व तथा पर्यावरणीय सङ्कटले समग्र प्राणी जगत् कठिन अवस्थामा रहेकाले अन्तर्राष्ट्रिय समुदायलाई सत्मार्गमा क्रियाशील हुन सन्देश प्रवाह गर्ने उद्देश्यले एक साताव्यापी धार्मिक सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले सहअस्तित्व र मुक्ति मोक्षका लागि गरिने धार्मिक पूजापाठ तथा महाअनुष्ठनमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा रौतहटको बगमाती जङ्गलबाट नयारोड, हरिवन, लालबन्दी बजार हुँदै सर्लाही जिल्लाको पत्थरकोठसम्म शन्ति पदयात्रा तथा बौद्ध साहित्य वाचन गरिने छ ।
सङ्घको १९औँ वार्षिकोत्सवका अवसरमा गर्न लागिएको सम्मेलनमा नेपाल, भारत, जापान, थाइल्याण्डलगायत मुलुकबाट करिब पाँच हजार बौद्ध धर्मालम्बी सहभागी हुने जनाइएको छ ।