काठमाडौं। २०७२ सालको विनासकारी भुकम्पले क्षति पुर्याएको पुलुकिसि देवघर भुकम्प गएको ६ वर्षपछि पुनःनिर्माण गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार इन्द्रजात्रामा विशेष आकर्षणको रुपमा रहने पुलुकिसि (सेतो हात्ती)को देवघर किलाघः त्वाः छेँको उद्धघाटन गरेका छन्। काठमाडौं महानगरका परम्परागत ३२ टोलमध्ये किलाघःलाई सम्पदा र संस्कृतिले भरिएको टोल भएकाले यसको पहिचान भनेको इन्द्रजात्रामा निकालिने पुलुकिसी नाच र देवी नाच हुन्। त्यसैगरी, पाटी, पौवा, मन्दिर, चैत्य, चोक, ननि, डबली, दोबाटो आदि एक टोलका लागि चाहिने सबै पूर्वाधार किलाघःमा रहेका छन्।
२०७२ सालको विनाशकारी भूकम्पले प्रभावित पारेको ऐतिहासिक किलाघः त्वा छेँको पुनःनिर्माण इं वंशीकृष्ण डङ्गोलको अगुवाईमा सम्पन्न भएको हो। यसैगरी मौलिक स्वरुपमा पुननिर्माण गरिएको किलाघ त्वाः छेँको अग्रभागमा अङ्कित पुलुकिसको विशाल मुखाकृति आकर्षणको रुपमा रहेको छ। किलाघः त्वाः छेँका अध्यक्षले किलाघः टोलका सांस्कृतिक सम्पदाको संरक्षण गर्न सो भवनको उपयोग गरिने बताएका छन्।
काठमाडौं महानगरपालिकाले यस्ता सम्पदाहरुको जगेर्ना गर्नुपर्छ भनेर नीति नै बनाएर सहयोग गरिरहेको जनाइएको छ। यस्ता सम्पदा, जात्रापर्व, चाडबाड नेवारको मात्र होयन देशकै पहिचान भएकाले काठमाडौं महानगरपालिका यस्ता सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटनसँग पनि जोड्ने प्रयासमा रहेको जनाइएको छ। काठमाडौं महानगरपालिकाले किलाघः त्वाः छेँ निर्माणका लागि दुई करोड रुपियाँ सहयोग गरेको थियो।