तनहुँ। पुल तर्दा १० रुपैयाँ शुल्क लाग्छ भन्दा सबैलाइ अनौँठो लाग्नु स्वभाविकनै हो, तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ। व्यास नगरपालिका–५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको आयोजनामा प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव यही मङ्सिर २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ।
महोत्सवमा हुनसक्ने दर्शकको भीडलाई मध्यनजर गर्दै स्थानीय बोटे समुदायले मादी नदीमाथि बाँसको अस्थायी पुल निर्माण गरेका हुन।
पाटन बोटे समाजका अध्यक्ष टेकबहादुर बोटेको सक्रियतामा करिब ३५ जना बोटेद्वारा दुई दिन लगाएर बाँसको पुल निर्माण गरिएको जानकारी दिए। भैरव बोटे, लोके बोटे, उत्तम बोटे, डिले बोटेलगायतका स्थानीय बोटेको सक्रियतामा बाँसको अस्थायी पुल निर्माण गरिएको हो।
व्यास–३ को व्यासगुफाबाट व्यास–५ को पराशर आश्रम निस्कने गरी निर्माण गरिएको पुलबाट महोत्सवस्थल जानका लागिसमेत छोटो दूरी पर्दछन्। बाँसको पुल तर्दा लिइएको रु १० ले सीमान्तकृत बोटे समुदायको सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य राखिएको स्थानीयवासी मङ्गलबहादुर बोटेले जानकारी दिए।