फाइल तस्बिर
रुपन्देही। रुपन्देहीको बेलबास–बेतहानी सडक निर्माणको ठेक्का रद्द गर्न स्थानीयले माग गरेका छन्। बेलबासदेखि बेतहानीसम्मको करिब ८ किलोमिटर सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेको भन्दै स्थानीयले ठेक्का रद्द गर्न माग गरेका हुन्।
सडक निर्माणका लागि दबाब दिन बनेको सङ्घर्ष समितिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सडक विकास पूर्वाधार कार्यालयलाई हालै ज्ञापनपत्र बुझाउँदै हालको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग गरेको छ । सङ्घर्ष समितिका संयोजक विजय ढकालले निर्माण व्यवसायीलाई पटक पटक सडक निर्माण छिटो गर्न अनुरोध गर्दा पनि बेवास्ता गरेपछि स्थानीयले दबाब दिने उद्देश्यले सङ्घर्ष समिति नै गठन गरेको बताए।
उनले सडक जीर्ण र खाल्टाखुल्टी भएकै कारण दुर्घटना बढेको र सवारीसाधन चल्दा धुलोका कारण जनजीवन नै प्रभावित भएको समेत बताए।
बुटवलको बेलबासदेखि रुपन्देहीकै मायादेवी गाउँपालिकाको बेथरीसम्मको कुल २१ किलोमिटर सडक चार लेनमा विस्तारका लागि २०७३ साल असारमा ठेक्का सम्झौता भई काम अघि बढेको थियो । २०७६ साल असार मसान्तभित्र निर्माणको काम सम्पन्न गर्ने गरी वज्रगुरु कान्छाराम जेभीले ठेक्का लिएको थियो ।
चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोड रुपियाँमा ठेक्का भएको हो । जसअनुसार दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । उत्तरतर्फको बेलबासदेखि बेतहानी खण्डको आठ किलोमिटर सडक निर्माणको काममा भने निर्माण व्यवसायीले लापर्बाही गर्दा निर्माणको काम अझै हुन नसकेको स्थानीयको भनाइ छ।