फाइल तस्बिर
बनेपा। अरनिको राजमार्ग विस्तार अन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको समस्या अझै समाधान भएको छैन।
पुरातत्व विभागले सहमति नदिँदा १० महिनादेखि विस्तार कार्य रोकिएको हो।
साँगामा पुरानो ढुङ्गेधारो तथा इँटा फेला परेको भन्दै विभागले काम गर्न सहमति दिइएको छैन । विभागले सूर्यविनायक–धुलिखेल सडक आयोजनालाई सडक विस्तारका क्रममा क्षति पुगेको संरचना निर्माणका लागि सहमति नदिँदा सडकको काममा समस्या भएको हो ।
विभागले सडक विस्तार गर्ने क्रममा सम्पदा प्रभाव मूल्याङ्कन (हेरिटेज इम्प्याक्ट एसिस्मेन्ट) गरेर ती सम्पदाको रिलोकेसन गर्न निर्देशन दिएसँगै आयोजनाले सम्पदा प्रभाव मूल्याङ्कन गरेर करिब तीन महिना पहिले विभागमा प्रतिवेदन पठाए पनि अहिलेसम्म सहमति नपाइएको आयोजनाले जनाएको छ ।
साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा हालसम्म २४ प्रतिशत र सूर्यविनायकदेखि साँगा सडकखण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ ।