काठमाडौं। पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर खण्ड स्तरोन्नति गरिँदै छ। सडक डिभिजन कार्यालय कञ्चनपुरले गड्डाचौकीदेखि अत्तरियासम्मको सडक खण्ड स्तरोन्नति गर्न लागेको हो।
कार्यालयले राजमार्गको चार लेनको बेस निर्माण गरेर स्तरवृद्धिका लागि सडक चौडाइ २५ मिटर बनाइरहेको छ। गड्डाचौकीदेखि अत्तरियासम्म सडक विस्तार, कल्भर्ट निर्माण, कालोपत्रेलगायतको काम गरिरहेको छ।
सडक विस्तार गर्नका लागि विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरका सबइन्जिनियर दानबहादुर चन्दले बताए।
गत आर्थिक वर्ष ०७७/०७८ मा एमएस थोदिप जसलिङ जेभीले २ करोड ४० लाख लागतमा सडक खण्डमा पर्ने कल्भर्ट चौडा गरेको थियो। उक्त कम्पनीले गड्डाचौकीदेखि दैजीसम्मको खण्डमा पर्ने कल्भर्ट विस्तार गरेको थियो।
उक्त कम्पनीले १ करोड ३ लाख लागतमा सडक विस्तारको काम गरेको हो। चालू वर्ष ०७८/०७९ मा कुमार जोशी जेभीले वेदकोट नगरपालिका–७ काङला पुलदेखि अत्तरियासम्म दुवैतर्फ सडक विस्तार, एक लेयर कालोपत्रेसहित मर्मतका लागि नौ करोड ६१ लाख लागतमा ठेक्का पाएको छ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सरला न्यौपानेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकीदेखि मोहना पुलसम्म सडक स्तरोन्नतिका कामकाज अघि बढेको बताइन्। केहीले सम्पन्न गर्ने चरण र केहीले भर्खरै सुरुवात गरेका छन्।