दोलखा। सडक सन्चालनमा आएको लगभग २५ वर्षसम्म स्तरोन्नति हुन नसकेको सुनखानी–साङ्वा सडकको कालोपत्रे हुने भएको छ। ग्रामीण सडक सुनखानी–साङ्वा सडकको कालोपत्रे गर्न गत वर्षदेखि कालिञ्चोक गाउँपालिकाले सुरु गरेको थियो।
गत वर्ष गाउँपालिकाले लगभग चार किलोमिटर सडक कालोपत्रे गरेको थियो। बजेट अभावमा रोकिएको उक्त सडकको थप कालोपत्रे गर्न पुनः ठेक्का आह्वान गरिएको छ। सिन्धुपाल्चोकस्थित भौतिक पूर्वधार विकास कार्यालयले सडकको डिजिटल सर्वेक्षणपछि बहुवर्षीय ठेक्का लगाउने गरी बोलपत्र आह्वान गरेको हो।
१५ किलोमिटर सडक कालोपत्रे गर्न बोलपत्र आह्वान भएको गाउँपालिका प्राविधिक प्रमुख इन्जिनियर नारायण शिवाकोटीले बताए। चरीकोट–सिँगटी सडकले छुन नसकेका ग्रामीण बस्तीको मुख्य सडक भएकाले गाउँपालिकाले उक्त सडकलाई महत्वपूर्ण सडक आयोजनाको रूपमा राखेको इन्जिनियर शिवाकोटीले जानकारी दिए।
पुसभित्र ठेक्का सम्झौता गरेर फागुनदेखि काम सुरु हुने गाउँपालिकाले बताएको छ। प्रदेश सडकको अनुदानमा निर्माण हुने उक्त सडकको काम दुई महिनाभित्र ठेक्का प्रक्रियाबाट सुरु हुनेछ। सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयअन्तर्गत चालू आर्थिक वर्षमा २१ करोड ४४ लाख रुपैयाँ अख्तियारी पाएको छ भने १५ किलोमिटर सडक कालोपत्रका लागि समपुरक अनुदानअन्तर्गत ५१ करोड ८८ लाखको सिलिङ तोकिएको बताइएको छ।
सम्झौताको दुई वर्षभित्र ठेकेदार कम्पनीले सडक कालोपत्रेसँगै पुल, कल्भट, नाला वाललगायतको संरचना पनि निर्माणकार्य सम्पन्न गर्नुपर्नेछ ।