काठमाडौं। बागलुङ पश्चिमका दुई स्थानीय तह ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा मोटेरेबल पुल निर्माण भएको छ। दुई स्थानीय तह जोड्ने सडक सञ्जाल बुर्तिवाङ–बोङ्गादोभान सडकको भालिवाङ र लुकुरवन खोलामा दुई वटा मोटेरेवल पुल निर्माण भएपछि वर्षात्मा पनि सवारी चल्ने अवस्था सृजना भएको हो।
सो जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि तमानखोला गाउँपालिकाको केन्द्रसम्मको सडक सञ्चालन खोलामा आउने पानीको कारण नरोकिने तमानखोला गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्। बागलुङको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सिमा क्षेत्र भालीवाङ खोलामा मोटरेबल पुल निर्माण गरिएको छ। कुल ४ करोड ४२ लाख लागतमा बुर्तिवाङदेखि तमानखोला गाउँपालिका केन्द्र बोङ्गादोभान जोड्न पुल निर्माण गरिएको हो। नयाँ बाटो सूर्यदल जेभीले गत वर्षको मङ्सिरदेखि पुल निर्माण सुरु गरेको थियो। उक्त पुलको ४० मिटर लम्बाइ र साढे आठ मिटर चौडाइको छ।
एक वर्षमा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको कम्पनीका साइड इन्जिनियरले जानकारी दिएका छन्। सो पुल निर्माण भएपछि दुई गाउँपालिकाको सडक सञ्जाल बाह्रै महिना सञ्चालन हुने जनाइएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुर्तिवाङ–तमानखोला सडक आयोजनाको स्तरवृद्धि तथा मोटेरेबल पुल निर्माण गरेको हो। यस अघि आयोजनाले लुकुरबन खोलामा पुल निर्माण गरी यातायात सञ्चालन गरेको थियो।