गोरखा। गोरखाको धार्चे गाउँपालिका–१ यारु बगरमा भएको क्यान्टिलिभर पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ। धार्चे गाउँपालिकाको चालु आर्थिक वर्षमा छुट्टाएको ५ लाख बजेटबाट पुलमा ग्याबिन तथा सिडी लगाएर फलामको रेलिङसहित क्यान्टिलेभर पुल मर्मत गरिएको हो।
तीन वर्षपछि पुल मर्मत भएर सञ्चालनमा आएसँगै स्थानीय तथा पर्यटकलाई यात्रा गर्न सहज भएको बताइएको छ। २०७८ सालमा आएको बुढीगण्डकीको बाढीले क्यान्टिलेभर पुलमा क्षति पुर्याएर विगत तीन वर्षदेखि उक्त पुल सञ्चालन बिहीन थियो।
२०७२ साल वैशाख १२ गते भूकम्पले मनास्लु पदमार्ग क्षतविक्षत बनाउँदा यारु भीरमा पदमार्गको ट्र्याक समेत नरहेपछि यारु भीरमा टाँसिएको नौलो प्राबिधिको क्यान्टिलिभर पुल निर्माण भएको थियो।