काठमाडौं। नुवाकोटको विदुर नगरपालिका–२ मा रहेको साततले दरबार पुनर्निर्माण गरिने भएको छ। २०७२ सालको महाभूकम्पले क्षति पुराएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्न सुरु गर्न लागिएको हो।
२०७५ साल असार ७ गते पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिना भित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।
२०७६ साउनमा पहिलो पटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर २०७६ सालको माघ–फागुनमा फर्कने गरी गएका थिए । तर चिनियाँ कम्पनीका प्राविधिकहरु स्वदेश फर्के लगत्तै कोरोना महामारी सुरु भएपछि उनीहरु अहिले मात्र नेपाल आएर पुनर्निर्माणको काम अघि बढाउन थालेका हुन्।