काठमाडौं। शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढीपहिरोले विपी राजमार्गको विभिन्न स्थानमा १५ सय मिटर सडक ध्वस्त भएको छ। विपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको सडकखण्डमा ६ ठाउँमा गरेर १५ सय मिटर सडक ध्वस्त भएको हो।
काभ्रेको चौकी डाँडा भन्ने ठाउँमा मात्र करिब ५०० मिटर सडक रोशी खोलाले बगाएको छ। एकै ठाउँमा सबैभन्दा बढी सडकमा क्षति भएको चौकी डाँडामा हो । राेशी खाेलाले थली बेसी भन्ने ठाउँमा २०० मिटरभन्दा बढी भागलाई पूर्ण रुपमा बगाएको छ । त्यसैगरी उक्त खाेलाले नार्के पुल नजिक २०० मिटर सडक बगाएकाे छ।
बाढी पहिरोले ठूलो क्षति पुर्याएका कारण तत्काल विपी राजमार्गमा यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
तत्कालका लागि भकुण्डेसम्म सडक सञ्चालन भए पनि त्यहाँबाट उता सम्भव नभएको कार्यालयले जनाएको हो। भकुण्डेबाट अघि बढेपछि मात्रै सडक निर्माण गर्न सकिने या नसकिने भन्ने विषयमा यकिन गर्न सहज हुने समेत कार्यालयले जनाएको छ।
क्षतिको विवरण संकलन गरिसकेकाे र अब फिल्ड अब्जरभेसनपछि कसरी र कति दिनसम्म सडक सञ्चालनमा ल्याउन सकिन्छ भन्ने थाहा हुने सडक विभागले जनाएकाे छ। वैकिल्पक ट्रयाक खोलेर भएपनि जतिसक्दा चाँडो सडक सञ्चालनमा ल्याउने विभागकाे भनाइ छ।
बाढीले सडक क्षति गर्दा नेपालथोकदेखि कटुन्जेसम्मको क्षेत्रमा अहिले करिब एक सय वटा माइक्रो, २० वटा ठूला बस रोकिएका छन्।