काठमाडौं। यो धारा चन्द्रशम्शेरको समयमा बनाइएको चन्द्रधारा हो। हुन त चन्द्र शम्शेरले कतिपय स्थानमा वीर धारा रहेको ठाउँमा नै चन्द्र धारा बनाएको हुँदा यसलाई वीरधारा नै भनिन पनि सक्छ। भक्तपुरका धेरै मित्रहरुले जानकारी दिनुभएको अनुसार यो साँकोठामा रहेको धारा रहेछ।
राणा प्रधानमन्त्री वीरशम्शेरले आफ्ना बाबु धीर शम्शेरको नाममा वीरगञ्जमा धीरधारा स्थापना गरेका थिए । भने उपत्यकाको तीनै शहरमा वीरधारा पनि स्थापना गरेका थिए । यसैको देखासिखि चन्द्रशम्शेरले चन्द्रधारा पनि ठाँउ ठाँउमा बनाए। भीमशम्शेरको समयमा अझ धेरै सार्वजनिक धारा बनाइदिए। यसपछि जुद्धशम्शेरको समय पछि भने निजी धारा राख्न पाउने नियम बनाइ दिएको हुँदा सार्वजनिक धारा बनाउने कार्य रोकियो।
पोखरामा बबर शम्शेरले आफ्नो छोरा बाल शम्शेरको सम्झनामा बालधारा बनाइदिएका थिए । पोखरामा झै बालधारा पाल्पामा पनि बनाइएको थियो। यहाँ तस्विरमा देखाइएको धारा सार्वजनिक धारा भए पनि कुनै पाटी भित्र रहेको देख्न सकिन्छ। हाल यो धारा जीर्ण अवस्थामा रहेको तर पाटी भने भत्किसकेको भन्ने जानकारी प्राप्त भएको छ। सुनिल उलकको फेसबुक पेजबाट