रामेछाप। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय रामेछापमा प्रमुख नहुँदा अधिकांश आयोजनाका काम प्रभावित बनेका छन्।विगत दुई महिनादेखि प्रमुख नहुँदा नयाँ पुराना सबै खानेपानी योजनाहरु प्रभावित बनेका हुन्।
कार्यालयका आयोजना प्रमुख राजेन्द्र सापकोटाको सरुवा भएको दुई महिना बितिसक्दा पनि संघीय खानेपानी मन्त्रालयले उनको ठाउँमा नयाँ प्रखुम पठाएको छैन।
कार्यालयमा प्रमुख नहुँदा जिल्लामा सञ्चालित दुई दर्जनभन्दा बढी खानेपानी आयोजनाका कामहरूको भुक्तानी र नयाँ कामको सम्झौतालगायत कामहरू ठप्प भएका छन्। कार्यालयमा लामो समयदेखि प्रमुख नहुँदा कर्मचारीहरूले दुई महिनादेखि तलबभत्तासमेत पाएका छैनन्।
प्रमुख नहुँदा आयोजनाको बाँकी भुक्तानी रकम, योजना सञ्चालनको लागि दिनुपर्ने पेस्की रकम, नयाँ योजना सम्झौता, मर्मत सम्भारका योजना, कार्यालयमा कार्यरत कर्मचारीको तलबभत्तालगायतका कार्यहरू रोकिएको बताइएको छ।