काठमाडौं। बाँकेको गणेशमानचोक–मनखोला सडक खण्ड स्तरोन्नती हुने भएको छ। नेपालगन्ज उपमहानगरपालिका गणेशमान चोक पश्चिम–परशपुर–गौघाट–मनखोला–कन्थपुर–गुलरिया सडक स्तरोन्नती गरिने भएको हो। नेपाल सरकारको माताहतमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सो सडक स्तरोन्नती गर्न लागिएको हो।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सो सडक स्तरोन्नतीको लागि करिब साढे २७ करोड बजेट बिनियोजन भएको छ। सोही बिनियोजित बजेटमा सडक स्तरोन्नतीको प्रक्रिया अघि बढाइएको हो। सो सडक कतै सडक साँघुरो भएर कतै खाल्डाखुल्डी परेको कारणले गर्दा स्थानीयबासी तथा सवारी चालकहरुले सास्ती झेल्दै आएका छन्। त्यसैले यस्ता समस्यालाई अन्त्य गर्ने उद्देश्यले सडक स्तरोन्नती गर्न लागिएको हो।
सो सडक खण्ड स्तरोन्नतीको लागि मन्त्रालयले ठेक्का आह्वान गरिसकेको छ। सो सडक खण्ड निर्माण भएपछि यात्रा गर्न सहज हुने जनाइएको छ। सडक स्तरोन्नती हुने कुराले सो क्षेत्रका स्थानीयहरु खुसी भएका छन्। सडकको दुरअवस्थाको कारणले गर्दा लामो समयदेखि स्थानीयहरुले हिउँदमा धुलो र वर्षामा हिलोको समस्या झेल्दै आएका थिए।